समाचार
१९. एकिकृत बृहत घुम्ति सेवा शिविर २०८०
सिरीजङ्घा गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार मिति २०८० फाल्गुण २९ गते देखि चैत्र ०७ गते सम्म सिरिजङ्घा गाउँपालिकाका वडा कार्यालयहरु सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, मामांखे खेवाङ र याम्फुदिनमा एकिकृत घुम्ति सेवा सञ्चालन गरिएको थियो । प्रत्येक वडामा सञ्चालित एकीकृत घुम्ती शिविरमा गाउँपालिकाले व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा, बैंक खाता सञ्चालनसम्बन्धी सेवा, व्यवसाय दर्ता तथा नवीकरणका सेवा प्रदान गरेको थियो । यसैगरी गाउँपालिका तथा वडाबाट सञ्चालन भएका योजनाको प्राविधिक मूल्याङ्कन, सम्झौता र अनुगमनजस्ता सेवा प्रवाह भएका थिए । सोही घुम्ती शिविरमार्फत मेची आँखा अस्पतालकै प्राविधिक सहयोगमा प्रत्येक वडामा छनोट भएका मोतिबिन्दुका रोगीलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा केन्द्रित गरी शल्यक्रियासहित सेवा प्रवाह गरिएको थियो । स्वास्थ्य केन्द्रसम्म बिरामी आउनलाई गाउँपालिकाले यातायातको प्रवन्धसमेत गरेको थियो । आँखाका विरामीलाई शल्यक्रियाबाहेक औषधोपचार र चश्मासमेत निःशुल्क उपलब्ध गराएको थियो ।
मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सेवाग्राहीलाई शल्यक्रियासहितको सेवा प्रदान गरिएको थियो जसमा मोतिबिन्दु भएका ८६ जना रोगीको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमार्फत मोतिबिन्दु भएका बाहेक टेरिजम अर्थात् आँखामा मासु पलाएर समस्या भएका १० जना र इन्ट्रोपिन समस्या भएका एकजनाको आँखाको शल्यक्रिया गरिएको छ ।