समाचार
सिरीजङ्घा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमका तश्विरहरु ।
नेपाल सरकारका खानेपानी मन्त्री माननीय उमाकान्त चौधरी ज्यूले आज मिति २०७८ साल चैत्र ०९ गते बुधबारका दिन सिरीजङ्घा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको छ। सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष श्री टिका राम गुरुङज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री माननीय तारामान गुरुङ र संविधान सभा सदस्य माननीय भूपेन्द्र थेबे ज्यू विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको थियो। प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनैतिक दल, जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि एवम् स्थानीयबासी समेतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा २ जना पूर्व प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक निकायका नाममा निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता, उत्कृष्ट समाजसेवी, उत्कृष्ट कर्मचारी/स्वास्थ्यकर्मी/शिक्षक लगायतका व्यक्तित्वहरुलाई कदरपत्र एवम् सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
२०७७ साल मंसिर २९ गते सिरीजङ्घा दिवसका दिन शिलान्यास गरिएको प्रशासकीय भवन तोकिएको समयसीमाभन्दा करीब ४३ दिन अघि अर्थात् मिति २०७८ साल पौष २६ गतेका दिन निर्माण व्यवसायी श्री मार्गदेवी/एस.ए.एस./थेबे जेभीले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। भ्याट र पिएस सहित रु. ५ करोड ९४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन निर्माणमा नेपाल सरकारको रु २ करोड ८५ लाख र गाउँपालिकाको आफ्नो स्रोतबाट रु ३ करोड ९ लाख रकम खर्च भएको छ।
"One Door, Service More" को अवधारणामा प्रशासकीय भवनको डिजाइन गरी निर्माण सम्पन्नमा उल्लेख्य भूमिका निर्वाह गर्नुहुने पूर्व प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष घिमिरे, इञ्जिनियर श्री संकल्प खनाललाई कदर पत्रद्वारा सम्मान गरिएको थियो भने गाउँपालिकाको स्थापनाकालदेखी करीब ३ वर्षको समयसम्म कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री प्रसन्नदीप राई समेतलाई कदरपत्रले सम्मान गरिएको थियो। १० शैयाको आधारभूत अस्पताल भवन निर्माणका लागि १३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु हुने श्री रुद्रकला भट्टराई र दामोदर भट्टराई तथा कोल्ड रुम, कुटानी पिसानी मिल निर्माणका लागि निःशुल्क उपलब्ध गराउनु हुने जग्गादाताहरु श्री शान्ता बस्नेत विष्ट, श्री बलराम न्यौपाने र श्री मविन्द्र परा लिम्बुलाई कदरपत्रले सम्मान गरिएको थियो। त्यसैगरी ४ नं वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाताद्वय श्री प्रेमकुमार भट्टराई र श्री धनबहादुर पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो। उत्कृष्ट समाजसेवीको रुपमा सुवेदार श्री भिमबहादुर थेबे तथा उदयीमान प्रतिभाका रुपमा श्री सुमन सिलिम्बोलाई (नगद ५० हजार सहित) समेत सम्मान गरिएको थियो। गाउँपालिकाको गतिविधिलाई खोजमूलक पत्रकारिता मार्फत समीक्षात्मकरुपमा पस्कने सञ्चारकर्मी श्री खगेन्द्र अधिकारीलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो। २०७८ सालको उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा मेडिकल अधिकृत डा भुवन सुवेदी, उत्कृष्ट कर्मचारीको रुपमा सिर्जना राई, उत्कृष्ट शिक्षकको रुपमा सम्झना भट्टराईलाई मासिक एक महिना बराबरको तलब रकमले सम्मान गरिएको थियो। गाउँपालिका क्षेत्रभित्रको सर्वोत्कृष्ट कर्मचारीको रुपमा पूर्व प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष घिमिरेलाई समेत सम्मान गरिएको थियो। बेरुजु फर्छौटमा उत्कृष्ट योगदान पुर्याउनु हुने शिक्षा अधिकृत श्री बुद्विप्रसाद खतिवडा र इञ्जिनियर श्री नविन यादव र आलेप सहायक श्री सुरेश नियाहाङ लाई समेत सम्मान पत्रले सम्मानित गरिएको थियो। त्यसैंगरी इलाका प्रहरी कार्यालय, तेल्लोकलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो। करीब ८ सयजनाको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम नवनिर्मित गाउँपालिकाको आफ्नै सभाहलमा सञ्चालन गरिएको थियो।